Free flights for cancer patients: Birat Cancer Institute and Yeti Airlines agreement
उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा आउनुुहुने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई …

उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा आउनुुहुने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।
यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिनुभएको छ । विष्टले भन्नुभयो, ‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका हरेक विरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौं । निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका विरामीहरुले उपभोग गर्न पाउनुहुनेछ । विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौं ।
निःशुल्क टिकट लिनका लागि विरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कागजातहरुका आधारमा क्यान्सरको विरामी भएको प्रमाणपत्र÷परिचयपत्र उपलब्ध गराउनुहुने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिट्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिनुभयो । कार्कीले थप जानकारी दिँदै भन्नुभयो, ‘विरामीहरुले डाक्टरको अप्वाइन्टमेन्ट लिनुहुँदा टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।’
त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्स जानकारी दिएको छ ।
नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी बिराट क्यान्सर इन्स्टिच्युटमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी, टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन हुँदै आएको छ । यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् ।
अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, अंको सर्जन डा. शिवराज शर्मा, डा.नरेन्द्र पण्डित, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक,हेड एण्ड नेक अन्को सर्जन डा.राहुत महतो, अक्युलर अन्कोलोजिष्ट डा.प्रेरणा अज्र्याल काफ्ले, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, अंको रेडियोलोजिष्ट डा. मनिस पाठक, डा. भानुप्रताप शाहलगायतका चिकित्सकहरुको समूहले सेवा प्रदान गर्दै आइरहनु भएको छ ।

